लखनौ-चंगा / ध्रुव दवाडी
उड, उड मेरो लखनौ-चंगा अकास छोई आऊ
त्यसभन्दा अझ पर जान सके तारा-नगरी जाऊ
मेरो बदला पनि सयल गरी माथि घुमीकन आऊ
सम्झे केही चीज त्यहाँको मलाइ ल्याई देऊ।
फनफन तिमीले घुम खाई के जान्न भनेको हो ?
अथवा मेरो आज्ञा मानी जाने राय दिएको ?
या त त्यसै ह्वौ उल्किरहेका, के हो लौ बतलाऊ
धागो हेर, म छाडिरहेछु, बेग बढाई जाऊ ।
कति सर्काले कुन तह पुगियो सो खबर दिदै रहुँला
म पनि तिमीसँग धागोद्वारा तार-कुरा गरिरहुँला
झट्ट तिमीमा सूर्य किरणको टलक परेको बेला
'दिनको तारा' देख्यौं भन्दै ढोल पिटाईदिउँला ।
साना तारक-बालकलाई हतकेलाबिच राखी
थैथैबाना थैथै भन्दै फुत्फुत् देह उफारी
छुनुमुनु गर्दै तिनसित चल्दै पैह्ले खुब रत्याऊ
छिनभर बोकी घुम्दछु भन्दै अनि तल झर्दै आऊ ।
तारालाई काँध चढाई ल्याइरहेको देख्दा
यस्तै रितले केवल हेरी हामी अड्न सकौंला ?
एक्क चोटी सबले उफ्री नभमा उक्लन खोज्दा
यो हाम्रो थिचिएको दुनियाँ मास्तिर कति जति उठ्ला ?
.............................
भारती, १|७, पुस २००६