एक कोठा, एक उद्देश्य र एक इन्टेलेक्चुअल नारी / पारिजात
हावाको बिपरित दिशातिर फर्केको झ्याल 
एउटा मामुली टेबल
जीवनको प्रतिबिम्बस्वरुप एउटा ऐना
गाजल, पाउडर, क्रीम र आइ ब्रो-पेन्सिल
इन्टेलेक्चुअलका नातामा राखिएका 
एउटा अंग्रेजी नवेल् र केही दैनिक अखबार
यो एक इन्टेलेक्चुअल नारीको कोठा हो ।
भर्खरै गफ सिद्धिएको न्यानोपनमा 
ब्वाय फ्रेण्डहरूका स्मृति चिन्हस्वरूप
यताउता पल्टिरहेका छन् 
चियाका रित्ता कप र चुरोटका ठुटा
नेपाली सुकुल
त्यसपछि सीमाबद्ध सतरन्जा
आदर्शको सीमा नाघ्न नसके तापनि 
सुकुलको सीमा नाघेर
ब्वाय फ्रेन्डहरू कहिलेकाहीँ बिच्छ्यौनासम्म पुगिदिन्छन्
सधैँसधैँ असन्तोषको सपना बोकेका 
नरम तकियाहरूमा पल्टिदिन्छन् ।
यस कोठाभित्र एउटा उकुसमुकुस छ
एउटा छट्पटी छ
झाँसीकी रानी, जोन अफ आर्क र म्याडम क्युरीका सम्झनाहरू
समाज, उद्देश्य र स्थितिसँग मिल्न नसकेर
प्रतिक्रिया झैं हाँसिरहेका हुन्छन् 
खोइ कहाँ कहाँ छन् कृष्णकी राधा
रामकी सीता, मनुकी पुज्या
यहाँ त उसको श्रमले 
एउटा कठोर जीवनवृत्ति अपनाइसकेको छ
यहाँ त उसका थकित पसिनाका थोपाहरू
धरौटी बस्छन् 
एक ग्रेजुएटका पे स्केल अन्तर्गत 
महिनाको अन्त्यमा आउने
अन्जुलीभर कागजका दामहरूमा ।
०००
...............................................
यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है।
 
	
	

