Last modified on 23 जुलाई 2017, at 15:51

ए रात, ए दिन, रोक, रोक / भीमदर्शन रोका


भीडैभीडले छोपेको, देखिन्न बाहिर
यो कहाँ हो, आइपुगेँ कहाँनिर
यसले कता पुर्‍याउन लाग्यो
अघि देखेको ठाउँजस्तो लाग्यो
बाटो एकदम फरक लाग्यो
चक्रपथझैँ घुमिरहेको
ए रात, ए दिन, रोक ! रोक !
म यहीँ ओर्लन्छु
गल्तीले यसमा बसेछु
कुन सुरमा चढेछु ।

अलि ढिलो भयो
बिहान रित्तै गयो
रित्तै भए पनि पुगिसकेको होला
म भरिदिन्थेँ
म पुग्न आएको थिएँ

पहिलो छुटयो, छुटिहाल्यो
समयले कति टाढा फाल्यो
अब अन्तिम आउन बाँकी छ
केही बेर त हो नि
जाने भए आऊ, म पर्खिरहेछु
म हेर्न आएको होइन
म पुग्न आएको हुँ ।

० ० ०