चोट / वानिरा गिरि
चोट
तिम्रो परशुको
सशक्त प्रथम प्रहार
मैबाट शुरु गर .
दुई आँखाका कुलाबाट
यस्तरी बगेर रित्तिऊन् पानीका धारहरू,
आँखा खडेरी परून् मेरा
हरिया बनून् खेत तिम्रा
र पाकिरहून् चोटका बालीहरू
र पाकिरहून् चोटका बालीहरू ।
तिमी र म
मितेरी लगाई एकाकार बनौँ
सदा-सर्वदालाई ।
कति घतलाग्दो!
एक दिन
सम्साँझै
दोबाटोमा तिमीसित
जम्काभेट भयो ।
मैले
आफूलाई सम्हाल्न नपाउँदै
एक्कासी बलात्कार गर्यौ तिमीले ।
त्यस बेलाका
ती क्रूर आत्मीय क्षणका साक्षी
रगतका कुमारी टाटाहरू
सर्जमिन नभएका बेवारिसे लासजस्तै
छरिएका छन् दोबाटोका ढुङ्गा-रोडाहरूमा ।
हरेक चोटी
हरेक दिन
हरेक प्रहर
हरेक पल
ओहोरदोहोर गर्दा ती टाटाहरूले
झवास्स-झवास्स
मलाई दिलाइरहन्छन् तिम्रो सम्झना ।
र चोट, यस्तरी अब ता
तिमी मेरो
सम्झना बनिसकेका छौ ।
चोट,
पहिले-पहिले
तिम्रो हरेक प्रहार मेरा निम्ति
आगोको मुस्लो हुन्थ्यो
काँडाको बिझाइ हुन्थ्यो
खुकुरीको धार हुन्थ्यो
औँसीको रात हुन्थ्यो,
तर आजभोलि
तिम्रो हरेक प्रहार एउटा स्पर्श बनेको छ
म स्वयम्-आगो बल्ने चुलो बनेकी छु
काँडा उम्रने झयाङ् बनेकी छु
खुकुरी राख्ने दाप बनेकी छु
गोमनको विषालु दाँत बनेकी छु
औँसीको अँधेरी रात बनेकी छु ।
र
सर्कसमा रत्याएजस्तै बघिनीलाई
चटकेको बाजाले रत्याएजस्तै सर्पिनीलाई
चोट
तिमीले कति चाँडै रत्यायौ मलाई!
अब त
तिमी र म
नङ र मासु बनेका छौँ
कृपण र पैसा बनेका छौँ
चोर बाटो र पैताला बनेका छौँ ।
हिँड ममाथि
सम्पूर्ण चोरी र डकैतीका साथ
यो निश्चय छ
तिमी थाकौला
म थाक्दिनँ ।
ममा उम्रेका
जिन्दगीका रङ्गीचङ्गी रहरहरूलाई
तिम्रा विध्वंसक आँधीबेहरीका झोँक्काहरूले
सोत्तर पारिदेऊ
ध्वस्त पारिदेऊ ।
चोट
तिम्रो भीमकाय स्वरूपले गाँज मलाई
तिम्रा लपलपाउँदा
डढेलाका जिब्राहरूले चाट मलाई,
तर उल्टो
थेत्तर बनेर
तिम्रा चोटैचोट थन्क्याउने तोपखानामा
मुन्टो लुकाउन आउँछु म ।
दाग चारैतिरबाट गोली नै गोली
बर्साऊ चारैतिरबाट आगो नै आगो
दाग चारैतिरबाट गोली नै गोली
बर्सर्दा चारैतिरबाट आगो नै आगो ।
तर पक्का हो
कान फोरेर सुन चोट
तिम्रो भण्डार रित्तिएला, म रित्तिन्नँ
तिम्रो भण्डार रित्तिएला, म रित्तिन्नँ ।