भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रतिकूल समय / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


दर्कन सक्छ ताराहरूको झरी
फुत्त खस्न सक्छ भर्भराउँदो र्सूय टाउकैमाथि
हेर्दाहेर्दै फलाम चुहिन सक्छ मैन झैँ पग्लेर
र ठडिन सक्छ मैन शीतकालको हिउँ जमे झैँ
वाचाल हुन सक्छन् अबोला ओठहरू छिनमै
प्रिय यादहरूमा सल्केपछि विस्मृतिको डढेलो
फूल काँडा हुन सक्छ / काँडा फूल हुन सक्छ
जब चुहिरहन्छ समय बेहिसाब परेलाका डिलहरूबाट
यस्तो बेला जे पनि हुन सक्छ ।

भाँचिन सक्छ समाएको हाँगो
अथवा भासिन सक्छ उभेको जमिन
एकाएक हिँड्न सक्छन् कालो झन्डा बोकेर-
सडक किनारका खम्बाहरू इन्कलाब गाउँदै
भागेर लेख्दालेख्दैको कविताबाट बिम्बहरू
आँप र मेवाका बोटहरूमा झुन्डिन सक्छन्
खसेर सपनाका बुट्टाहरू आफ्नै आँखाबाट आफैअघि
कुनै यातनाको नमिठो राग अलाप्न सक्छन्
हराएपछि मानवता नामको जिनिस
व्यस्त चोक बजारमा एक्कासि
चुँडिन सक्छन् सम्बन्धका नाजुक डोरीहरू थाहै नपाई
सुक्न सक्छन् आस्थाका आँकुरा
चैते वन जस्तै
बिर्सेर सुरिला वासन्ती धुन कोइली पनि रुन सक्छ
यस्तो बेला जे पनि हुन सक्छ ।

हो, मनको वनभरि फुलेका स्वच्छन्द विचारलाई
जब खोजिन्छ प्लास्टिकका गमलामा कैद गर्न
तब विद्रोहको समुद्री लहर उठेर
सगरमाथाको चुली छुन सक्छ
यस्तो बेला जे पनि हुन सक्छ ।