भीड / कृष्ण पाख्रिन
अस्तित्व आकाशलाई च्यापेर मुठ्ठीमा एकपल्ट
जिन्दगीको विश्लेषण गर्छु
म जिन्दगी ! मेरो साथी जिन्दगी !!
खण्डनै खण्डन भएर म उभिरहेछु
खण्डनै खण्डन उ बाँचिरहेछ ।
खण्डीत छौं हामी दुबै !
त्यसैले हामी छौं !!
आत्मपराजयको हातले मलाई छुन्छ
म स्वयं पराजित बन्छु
समूहदेखि तर्सेर समूह भेट्न सकिन
विक्षिप्त छु, त्यसैले विक्षिप्त हुन्छु
यो मेरो धृष्टता मलाई थुकिरहेछ
म आत्मग्रस्त हुन्न, छुइन,
म भीड हुन ब्यग्र भइरहेछु !
म भीड हुन व्यग्र भइरहेछु !!
बाँच्ने क्रम आइस्क्रीम हो, पग्लिन्छ, जम्छ ।
हामी चुइगम जस्तो आत्महत्या चाहान्छौं, पाउदैनौं
हामी, हत्यादेखि निर्वासित
हामी, आत्मदेखि निर्वासित
जिन्दगीलाई भीडमा छोड्छौं, जिन्दगी भीडमा उम्रिन्छ
मलाई एक्लो स्वतन्त्रता चाहिंदैन
(मेरो चाहनामा बिद्रोह छ र बिद्रोह मेरो चाहना)
मलाई मेरो एक टुक्रा जातदेखि बिरोध छ
मलाई मेरो एक टुक्रा नामदेखि बिरोध छ,
घृणा गर्छु प्याच्च थुकेर म आफैंलाई
घृणित छु म आफैं आफ्नै निम्ति
किन म केवल मान्छे हुन सकिन ?
किन म केवल मान्छे भइन ?
आयुभरी जरमराएर आफ्नोपन, शून्य सडक जत्तिकै
कुल्चेर हिड्छ मलाई ! उसलाई !
कुदिन्छौं चुपचापको झापट खाएर
क्षुब्ध हुन्छौं हाम्रो विगत परम्परामा चेप्टिएछ
स्वीकार छैन त्यो बाध्यताको परम्परा
बाध्यतालाई खोलाको डिलमा झुक्याएर खसाई दिन्छु
म आज एक्लोपनको बिरोधमा उभिन्छु
हामी आज शून्यको बिरोधमा उभिन्छौं
मान्छे मलिलो हुन्छ, त्यसैले बिरोध रोप्न पर्छ
र फल्ने छ भीड भएर प्रत्येकको बुद्धिमा ।
उभिन्छु म, हिड्दा हिड्दै चोकमा बजारमा
हाम्रो हिड्नु गति हो, मान्छेमा गति हुन्छ त्यसैले
आज गतिलाई भीडको दौरा सुरुवाल दिन्छु ?
(किनकी गति नांगो हुन्छ मेरो सानो भाई जस्तै)
तर हामी नाँगो छैनौं
त्यसैले !
हाम्रो नाम स्खलित छ सपनामा
र बेवारिस सपना छुट्टै उभिन्छ हाम्रो बिद्रोह
जातलाई म स्वप्नदोषसँगै पखाली दिन्छु ।
अब बाँच्न हामी भीड हुन्छौं
(प्रत्येकले भीड हुनु पर्छ)
र, जिन्दगीलाई भोग्न जुलुस गरिरहेछौं !
सडकभरी अटेसमटेस भएर घुमिरहेछौं !!
सिनेमाभरी उभिएर हेरिरहेछौं !!!
बजारभरी बजार भएर हेरिरहेछौं !
हामी भीडमा छौं त्यसैले
हामी साह्रै भीड छौं !!