भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेलाम्ची / वानिरा गिरि

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मेलाम्ची एउटा नदीको नाम हो
तर यो नदी
नदी मात्र होइन
एउटा शरीर पनि हो,
एकदम जिउँदो शरीर
मेलाम्ची शरीर
छलछल कलकल गर्ने कञ्चन काया
अनन्त अनन्त तिर्खा मेट्ने कोमल छाया
हिमाली शिखरहरूका ऋतुदानबाट
स्वर्गङ्गाझैँ बग्दैबग्दै आएकी हो मेलाम्ची ।

पूर्णेको रातमा
जुनेलीको सोह्रशृंगार कत्ति सुहाएको छ
सुन्दरीहरूको पनि सुन्दरी
जलसुन्दरी भने हुन्छ यसलाई
यसले तल-तल बग्दा
फिन्फिनी घुम्दा
चक्कर काट्दा
छलबल छलबल गर्दा
यसबाट उब्जेका रतिरागात्मक ध्वनिबाट
कसको मन चञ्चल होओइन ?
यो अनिन्द्य सुन्दरीलाई
भित्र्याउने रहर कसमा जाग्दैन र ?

गोसाईंकुण्ड एउटा तीर्थ हो
मात्र तीर्थ, मात्र कुण्ड
एक ठाउँ टक्क जमेर बस्ने तीर्थ
मेलाम्ची-
पखालिएर, सजिएर, जोसिएर, पसारिएर
बगेर हिँड्ने शरीर हो
यस शरीरमा चोबलिएर
डुबेर
पौडेर
कति-कति पाखण्डी शरीरहरू पावन बनिसकेका छन्
बरा गोसाईंकुण्ड तीर्थयात्रीहरू लोभिनु स्वाभाविक होइन र ?

मेलाम्ची
मोक्षप्राप्तिको एक तात्विक तरलता हो
करोडौँ-करोडौँका तिर्खा मेट्न सक्ने
उत्कण्ठित उत्ताल ऊर्जास्रोत हो
मेलाम्ची- यात्रामा निस्कँदा
गेरुवा वस्त्र धारण गर्नु पर्दैन
हातमा कमण्डलु र चिम्टाको स्वाँङ भर्नु पनि पर्दैन
आँखामा विद्युतीय ज्योति
र घाँटीभरिभरि
तिर्खा बोकेर चुर्लुम्म डुबुल्की मारे हुन्छ ।

जलदेवी हो मेलाम्ची
यसको पूजाआजामा मन र मुटुको
भएभरको माया पोखाए हुन्छ
यसको सुकुमारी शरीरको हरेक लहरमा
लाखौँलाखको तिर्खा मेटाउने रङ्गीन रहर
तरेली-तरेली भएर थेग्रिएको छ
उत्साहउमङ्गका उत्ताल छालहरूलाई
छातीभरिभरि अटाएर
बिदा हुन तयार छे मेलाम्ची

सुहागरातको सुकुमारी सपनाहरू सँगालेर बग्दैछे
पुरुषार्थले देदीप्यमान
एक अजङको व्यक्तित्व पर्खेकी छे यसले
कुनै दिन
कुनै मुहूर्तमा
यहीँको माटोबाट, ढुङ्गाबाट, हिमशिखरबाट, बतासबाट
एक ओजश्वी, पौरखी महापुरुष प्रकट होओइन ?
आफैँसँग प्रश्न गर्छे
आफैँ लजाउँछे मेलाम्ची ।

प…र र धेरै पर जान मन छैन उसलाई
आफ्नै मुलुकको
आफ्नै माटोको
आफ्नै माया-ममताले लटरम्म भएको
आफ्नै मुलुकको मायालु राजधानीमा भित्रिने भित्री रहर बोकेर
छलछल छलछल छलछल छलछल गर्दैछे
यो अप्रतिम सुन्दरी मेलाम्ची ।
००
छ कुनै महानायक ?
जो वरण गर्न सकोस् यसलाई
जो भित्र्याउन सकोस् यसलाई
काष्ठमण्डप नाम गरेको
यो महानगरीमा
यो मायानगरीमा ?
यस मायानगरीका हज्जारौँ-हज्जारौँ
चेलीबेटीहरूका
छोरीबुहारीहरूका
गल्ली-गल्लीमा
गाउँ-गाउँमा
बस्ती-बस्तीमा
लाम लागिएका रित्ता गाग्राहरूमा
रोज भरिन मन छ उसलाई
सुक्खा घाँटीहरू रोज भिजाउन मन छ उसलाई ।

मेलाम्चीलाई
केवल नदी भनेर पुग्दैन
समस्त तिर्खा र तृप्तिहरूको मुहान पनि हो
बत्तीस लक्षणले युक्त भएकी सुकन्या पनि हो
अब-
रामहरूले शिवधनु उठाउनुपर्‍यो
मेलाम्ची भित्र्याउने हो भने
अर्जुनहरूले तल हेर्दै माथि झुन्ड्याइएको
माछाको आँखा ताक्नुपर्‍यो
मेलाम्चीलाई राजधानीको राजरानी बनाउने हो भने ।

सीताहरूभन्दा
द्रौपदीहरूभन्दा
कुन अर्थमा
कम सुन्दरी छे मेलाम्ची ?
कम गुणवती छे ?
कम शीलवती छे ?
कम आग्नेय छे ?
यसको सौष्ठवपूर्ण
वेगवती शरीरको रागात्मकतालाई
सुन्ने कानहरू बरु बैरा छन्
देख्ने आँखाहरू अन्धा छन्
बुझ्ने मनहरू मृत छन्
मनन गर्ने मस्तिष्कहरू
भताभुङ्ग छन्, लथालिङ्ग छन्, छताछुल्ल छन्

आजभोलि सीता होइन
रामहरू सुनको मृगनिम्ति लिँडेढिपी गर्ने भएका छन्
खाण्डव महलको भूलभूलैयामा
दुर्योधन पछारिँदा द्रौपदी होइन
तथाकथित धर्मराज युधिष्ठिरहरू
खित्का छोडीछोडी हाँस्ने भएका छन्
यिनीहरूका-
बिनसित्तिका लिँडेढिपीहरू
तातो न छारोका खित्काहरू
बेहोर्दा-बेहोर्दा
जन-जनका मनहरूमा कैयौँ-कैयौँ क्लेशहरू
तह-तह भएर, थुप्रो-थुप्रो भएर थुप्रिएका छन् ।

अग्निपरीक्षामा थेचार्दै सीताहरूलाई
कलियुगी रामहरूले नाक जोगाउन सक्तैनन्
आपस्तमा बगरेले झैँ बाँड्दैमा द्रौपदीलाई
धर्मको रक्षा गर्ने आँटसम्म पनि
गर्न सक्तैनन् आधुनिक अर्जुनहरूले ।

आफ्ना नपुंशकताहरूलाई च्वाट्ट चुँडाल्ने हो भने
कानहरू चनाखा पारेर
आँखाहरू तीखा पारेर
मस्तिष्कका तन्तुहरूलाई तानतुन पारेर
हिमवत्‌सुन्दरी मेलाम्चीसँग स्वयंवर रचाउनुपर्‍यो
मनको सम्पूर्ण मधुरता घोलेर
मेलाम्चीसँगको सुहागरात सम्पन्न गर्नुपपर्‍यो
होइन भने-
‘सीतालाई रावणले हर्‍यो’ भनेर
रुनु, कराउनु भएन
अर्को रगतकाण्ड रामायणनिम्ति
वाल्मीकिहरूलाई उकास्नु पनि भएन
ढुङ्गाकी गौतमीलाई
नाटक गर्नु भएन पयरले छुने
फोस्रो महानता पनि देखाउनु भएन
शबरीको जुठो बयर खाने ।

अबका रावणहरूद्वारा हरिने सीता
मेलाम्ची हुनेछ
जुवामा थापिने द्रौपदी पनि
मेलाम्ची नै हुनेछ
अब कुनै दुःशासनबाट
कसैको चीरहरण हुने हो भने
त्यो पनि मेलाम्ची नै हुनेछ
रामहरूको निम्ति, अर्जुनहरूको निम्ति
बीसौँ शताब्दीको पुछार र एक्काइसौँ शताब्दीको टाउकामा
आयोजना हुन लागेको
यो अन्तिम महापौरुष-परीक्षा हो
समग्र पौरुषलाई
‘स्प्रेक्टम’ सरह एक बिन्दुमा केन्द्रित गरेर
सारा खलनायकहरूलाई
सारा जलदस्युहरूलाई
भित्तो पुर्‍याएर सिध्याउनुपर्‍यो
मेलाम्चीलाई वरण गर्नुपयो

होइन भने-
मेलाम्ची आफ्ना फुपुहरूझैँ, दिदीहरूझैँ
सधैँ-सधैँका निम्ति विदेशिनेछे, बेपत्ता हुनेछे
कामतीपुर, भाण्डुप, फक्ल्याण्ड गल्लीतिरका
आफ्ना साथीसँगीका फोहोरहरू पखाल्दै-पखाल्दै
महासागरमा पुग्दा-नपुग्दा
के हुनेछ पहिचान उसको ?
अलिकति गङ्गा ?
अलिकति हिमकन्या ?
अलिकति इन्द्रावती ?
अलिकति मेलाम्ची ?
अथवा-
फोहोरै-फोहोरको वैतरणी ?
फोहोरै-फोहोरको वैतरणी ?
०००