भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
कतैबाट सराप पाएको हो कि ?
कस्तो यो मन, कहिल्यै नअघाएको।
थाकी–थाकी उठेका मेरा पाइलाले
सोधिरहन्छन्, अझ कता ?
सडककै छेउमा कुनै दिन
अन्तिम थकाइमा ढल्ने सत्य मेरो।
तर सडक अझ बढ्दै जाला
नटुङ्गीकन… ।
थाकेर पनि,
सधैँ नयाँ थकाइतिर लम्किने।
थाहा छ मलाई, अन्त्य मेरो
अन्त्यहीन सडकमा हुनेछ ।
म जहाँ थिएँ
त्यहाँ म छैन ।
म जहाँ छु
त्यहीँ भोलि हुनेछैन ।
‘किन’ को अन्त्य ‘अघि’ हुन्छ
अनि प्रत्येक ‘अघि’ ले फेरि ‘किन’ ल्याउँछ ।
सडक कहिल्यै खतम नहुने
म जहिले पनि हिँड्न खोजेर;
मैले सडक बनाएँ
हिँडिरहन— नयाँका लागि बढिरहन ।
तर मेरो प्रत्येक पाइलाअगाडि
फेरि यो तगारो किन ?